किमाथाङ्का (सङ्खुवसभा), सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(एमालेका) अर्जुनकुमार कार्कीको अग्रता जारी छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्कीले आफ्नो अग्रतालाई कायमै राख्नुभएको छ । हालसम्मको मतगणनामा अर्जुनकुमार कार्कीले ६ हजार १४९ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गर्नुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले पाँच हजार ३८७ मतले पछ्यायरहनु भएको छ । एमालेका कार्की र रास्वपा का शेर्पाबीचको ७६३ मतान्तर रहेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले तीन हजार ६०७ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभएको छ । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले दुई हजार ८१७ मतका साथ चौथो स्थानमा रहनुभएको छ भने नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले ६४४ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय परिर्वतन पार्टीका घनश्याम वालिङ राईले २६९ मत प्राप्त गर्नुभएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा हालसम्म २० हजार ३८९ मतगणना भइसकेको छ । अहिलेसम्म मादी र धर्मदेवी नगरपालिका गणना भइसकेको छ । मतगणना जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसोदेखि जारी छ ।
गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् । राष्ट्रिय समाचार समिति (रासस)


















































































































































