गण्डकी, राष्ट्रिय समाचार समिति (रासस)ले गण्डकी प्रदेशको राजधानी पोखरामा ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ निर्माणका लागि पहल अगाडि बढाएको छ ।आज राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उक्त अनुसन्धान केन्द्र निर्माणसम्बन्धी प्रस्ताव गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको । सो अवसरमा मुख्यमन्त्री पाण्डेले आमसञ्चार विकास तथा अनुसन्धान केन्द निर्माण गर्ने राससको प्रस्तावप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।
“आमसञ्चार क्षेत्रको विकासका लागि राससले अगाडि सारेको योजना समयसापेक्ष र महत्वपूर्ण छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राससबाट प्राप्त प्रस्तावलाई थप अध्ययन गरी आवश्यक निर्णयमा पुग्छौँ ।”उहाँले सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचारमार्फत आम नागरिकलाई सूसुचित गराउँदै आएको मुलुकको एकमात्र समाचार समिति रासससँग प्रेदश सरकारले सहकार्य र समन्वय गर्ने बताउनुभयो । राससका कार्यकारी अध्यक्ष झाले राससले आफ्नो सेवा विस्तारसँगै प्रदेश सरकार र स्थानीय तहसँग सहकार्यको नीति लिएको बताउनुभयो ।
पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित राससको गण्डकी प्रदेश कार्यालय रहेको स्थानमा आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माण गर्न आर्थिकलगायत आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग प्रस्ताव अगाडि बढाइएको उहाँको भनाइ छ । कार्यकारी अध्यक्ष झाले राससको प्रस्तावमा प्रदेश सरकारको सकारात्मक दृष्टि रहने विश्वास व्यक्त गर्नुभयो ।
“प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माणका लागि आर्थिक स्रोत व्यवस्थापन गरोस् भन्ने राससको माग र अपेक्षा छ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “प्रदेश संरचनामा गइसकेको राससको सेवा विस्तार र स्तरोन्नतिमा प्रदेश सरकारले पनि अपनत्व लिनुपर्छ ।”
गण्डकी प्रदेशभित्रका समाचार, तस्बिर, श्रव्य र श्रव्यदृश्य सामग्री प्राथमिकताका आधारमा सम्प्रेषण गर्ने विषयमा प्रदेश सरकारसँग सहकार्य भइरहेको उहाँले बताउनुभयो । “गण्डकी प्रदेश सरकारका काम कारबाही, नीति तथा योजनाबारे समाचार सम्प्रेषण गरी आम नागरिकसम्म पु¥याउन राससले प्रदेश सरकारसँग सहकार्य गर्दै आएको छ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “आगामी दिनमा प्रदेश सरकारसँगको सहकार्य र समन्वयलाई थप सुदृढ पार्न रासस तयार छ ।”
नयाँ बजारस्थित राससको आफ्नै जग्गामा उक्त केन्द्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार भइसकेको छ । करिब तीन रोपनी क्षेत्रफलको उक्त जग्गामा भूमिगत पार्किङसहितको व्यावसायिक भवन बनाउने राससको योजना छ । ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ रहने उक्त भवनमा सुविधासम्पन्न कार्यालय, सभाकक्ष, रेडियो, टेलिभिजन स्टुडियो, खाजाघर, भोजनालयलगायत संरचना बन्ने जनाइएको छ ।
प्रदेश सरकारसँगको साझेदारीमा बन्ने उक्त केन्द्रमार्फत नागरिकको सूचनाको हक सुनिश्चित गर्न, सङ्घ, प्रदेश र स्थानीय तहका निर्णय सहज रुपमा प्राप्त गर्न, डिजिटल प्रविधिमा आधारित पत्रकारिताको विकास र पत्रकारको दक्षता अभिवृद्धिमा टेवा पुग्ने राससले विश्वास लिएको छ । प्रदेशस्तरमा डिजिटल साक्षरता र पारदर्शी प्रशासनलाई सुशासन कायम गर्नमा सहयोग पु¥याउने अपेक्षा लिइएको छ । मुख्यमन्त्री पाण्डेसँगको भेटमा कार्यकारी अध्यक्ष झासहित, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेललगायतको सहभागिता थियो ।राष्ट्रिय समाचार समिति (रासस)


























































































































































