कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शैक्षिक अभियन्ता क्षेत्रप्रसाद ज्ञवाली तथा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी रमेशदत्त अवस्थी सहभागी रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रावतले विद्यालयले समुदायमा पु¥याएको योगदानको चर्चा गर्दै शैक्षिक सुधारका लागि निरन्तर प्रयास आवश्यक रहेको बताए । विद्यालयको शैक्षिक उन्नति तथा विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यालयले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।
कार्यक्रममा सम्मानित शैक्षिक अभियन्ता ज्ञवालीले बालबालिकालाई केवल किताबी ज्ञान मात्र नभई संस्कारयुक्त शिक्षा आवश्यक रहेको उल्लेख गरे । पछिल्लो समय विद्यार्थी तथा अभिभावकमा बढ्दो मोबाइल तथा प्रविधि उपकरणको अत्यधिक प्रयोगले पारिरहेको नकारात्मक प्रभावबारे उनले प्रेरणादायी प्रस्तुति दिएका थिए ।
यसै गरी कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी अवस्थीले न्यू स्टार विद्यालयले बालबालिकामा बढ्दै गएको लागुऔषध दुर्व्यसन तथा सामाजिक समस्याबारे सचेतना फैलाउने कार्यक्रम सञ्चालन गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी प्रस्तुत गर्नुका साथै विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति मार्फत दर्शकको मन जितेका थिए। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सृजनशीलता र आत्मविश्वास झल्किने विविध गतिविधिहरू प्रस्तुत गरिएका थिए ।
३१ वर्ष लामो इतिहास बोकेको विद्यालयले स्थापना कालदेखि हालसम्म योगदान दिएका पूर्व शिक्षकहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो। साथै २०८१ सालको एसइई परीक्षामा ३.६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई नगद २० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
विद्यालयले स्थानीय कला–संस्कृतिको संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि सम्मान गरेको छ। स्थानीय संस्कार झल्किने भजन–कीर्तन तथा वाद्यवादनमार्फत कला क्षेत्रमा योगदान पुर्याएका टिकाराम अधिकारी तथा नृत्य क्षेत्रमा योगदान दिएका नृत्य निर्देशक प्रलव बुढाथोकीलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
विद्यालयका संस्थापक प्रधानाध्यापक परशुराम भण्डारी (पीआर) ले विद्यालय स्थापना कालदेखि अहिलेसम्मको यात्रा, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराए। विद्यालयले विद्यार्थीको शैक्षिक स्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष जोड दिँदै आएको उनले बताए ।
आगामी दिनमा पनि विद्यार्थीलाई नैतिकता, राष्ट्रियता र व्यवहारिक शिक्षासँग जोड्दै अघि बढ्ने लक्ष्य रहेको उनले बताए । विद्यालयलाई यहाँसम्म ल्याउन अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको साथ र विश्वास नै सबैभन्दा ठुलो शक्ति भएको उनको भनाइ थियो ।
वार्षिकोत्सवकै अवसर पारेर संस्थापक प्रिन्सिपल भण्डारीले पत्रकार प्रकाश मिश्र तथा विद्यालयका प्रशासन प्रमुख जीवन शर्मा ढकाललाई स्वीट सेयर प्रदान गरेका थिए । विद्यालयद्वारा आयोजित उक्त वार्षिकोत्सव तथा अभिभावक भेलामा जनप्रतिनिधि, अभिभावक, विद्यालय व्यवस्थापन समिति, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।



















































































































































