काठमाडौं । शनिबार एक भव्य कार्यक्रमबीच सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाति विजय चालिसेको अनुदित कथा सङ्ग्रह ‘अभिशप्त रात’ र बाजुराम पौडेलको उपन्यास ‘मखमली’ को विमोचन भएको छ।बरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेको प्रमुख आतिथ्य र गोविन्द घिमिरे बेदमणिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नरेन्द्रराज पौडेल, वेदमणि, बरिष्ठ समालोचक/निबन्धकार गोपी मैनाली, बरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारी, बरिष्ठ कथाकार एवम् समालोचक युवराज मैनाली, लेखक द्वय चालिसे तथा पौडेलबाट सामूहिक रुपमा उक्त दुई कृतिको विमोचन भएको थियो।
विजय चालिसेद्वारा जापानी साहित्यबाट अनुदित कथा सङ्ग्रह ‘अभिशप्त रात’ माथि समीक्षा बरिष्ठ समालोचक गोपी मैनाले गरेका थिए। उनले इशापूर्व ३००० वर्षअघि शमरियान महाकाव्य गिल्जामिस पाँच भाषामा अनुवाद भएर शुरु भएको अनुवाद साहित्य अहिले छुट्टै विधाको रुपमा विकास भै एक भाषा र अर्को भाषा, एक समाज र अर्को समाज, एक संस्कृति र अर्को संस्कृतिबीच सम्बन्ध विस्तार र साहित्य समृद्धिको सूत्र बनेको उल्लेख गर्दै ‘अभिशप्त रात’ मा सङ्ग्रहित १७ कथा/लघुकथाहरू आकुतागुवा न्युनोसुकेका अनौठो कथा, दानव, परित्यक्त घर र व्यापारीकी आमा, सातोमी तोनको अभिशप्त रात’, कावाकाता यासुनारीको हिमदेश, वातानावे अनको बासँग बिछोडिँदो, योसिकी हायामाको सिमेन्ट घोल्ने ढ्वाङ्भित्र एउटा पत्र, मिमेई ओगोवाको भुताहा जहाज, सितोरुको फोनद्वारा ठगी, आकिरा मायावाकीको जङ्गलको निराशा र गाउँको विषाद, योसिइ तोसियामाको लम्फु द्रुतयान, र्यूका माओको प्रेत राजकुमारी, युमोनो क्युसाकुको गोजी घडी र योतारे तानुकी र डेन्ड्रो थ्रीका फ्ल्यास फिक्सनमाथि विश्लेषण गरेका थिए।
उहाले अनुवाद विदा मस्तिस्क अनुवाद (माइन्ड) बाट मेशिन (यन्त्र) मा पुुगेको सन्दर्भ औंल्याउँदै चुनौती ल्याउन सक्नेतर्फ साहित्यकारहरूलाई सजग रहनुपर्नेतर्फ प्रकाश पारेका थिए। अनुवाद लिपिबाट एआइ, एमएल, लोकोलाइजेशन, भिडियो–अडियो ट्रान्सलेशन, ट्रान्स क्रिएशन, अगमन्टेशन रियालिटी जस्ता विधिले अनुवादलाई मानिसबाट उछिन्दै, खोस्दै लगेकोले सजिला र असजिलो, राम्रो र नराम्रो पक्षहरू एकैसाथ ल्याएको बताए। साथै चालिसेले जापानी भाषा, साहित्य, संस्कृति र लेखकको मौलिकालाई अन्तरबोध गरी अनुवाद गरेर आफ्नो विशिष्ठ अनुवाद कला प्रस्तुत गरेको तथ्यमाथि पनि मैनालीले विश्लेषण गरेका थिए।
बाजुराम पौडेलको मखमली उपन्यासमाथि समीक्षा गर्दै बरिष्ठ समालोचकठाकुर शर्मा भण्डारीले पौडेलको मखमली सँच्चै मखमली भएको बताए। समाजमा छिपेको विषय बस्तुलाई सरल र लालित्यपूर्ण रुपमा स्थानीय परिवेश र पात्रलाई टिपेर प्रस्तुत गरी उद्देश्यमूलक सन्देश दिन पौडेल सक्षम भएको र आउँदा दिनमा अरु मखमली जस्तै उपन्यास उनीबाट सिर्जना हुने विश्वास उनले व्यक्त गरे।कार्यक्रममा साहित्यकार बलराम अधिकारी, प्रा डा गणेश भण्डारी, बरिष्ठ समालोचक युवराज मैनालीले शुभकामना दिएका थिए।


































































































































































