माघ । रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिस साध्न २ वटा वडालाई विकास निर्माण कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन्।
नगरपालिकाले सञ्चालनमा ल्याएको असहायसँग मेयर कार्यक्रमअन्तर्गत विवाह कार्डको आधारमा गरेको सिफारिशमाथि नगर प्रमुखले छानविन नै नगरी आफूलाई बदनाम गर्ने उद्देश्यले आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको उनको आरोप छ।
शुक्रबार वडा कार्यलयमा सञ्चारकर्मीसँग कुरो गर्दै वडा नम्बर ९ का नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुखले आफ्नो नजिकको व्यक्तिलाई वडाको सिफारिश बिना रकम दिने तथा गरिव असहायलाई सिफारिश गरेर पठाउँदा फाइल नै गायव गरिदिएको आरोप लगाएका छन्।
बैठकमा सादा पानामा हस्ताक्षर गराएर मनोमानी ढंगबाट योजना लेख्ने गरेको बताउँदै आवाज उठाउँदा धम्कि दिने गरेको गुनासो गरे। आर्थिक वर्ष २०७९/८० मा आर्थिक सहयोगको लागि गरेको सिफारिशसहितको फाइल नै गायव गरिदिएको स्थानीय ठगा साहले बताए।एक वर्ष पहिला नै छोरीको बिबाह गरेको र सहयोगको लागि निवेदन दिएकोमा अहिलेसम्म रकम नपाएको गुनासो गरे।
वडा नम्बर ८ का स्वतन्त्र निर्वाचित भएका वडा अध्यक्ष शिव प्रसन यादवलाई समेत उपेक्षित गर्ने मेयर रिना साहले आफ्नो पक्षको सम्पन्न व्यक्तिलाई सोझै आर्थिक सहयोग दिने गरेको स्थानीयले बताए। स्थानीय नरेश यादवले एक वर्षदेखि दौड धुप गरे पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे।





























































































































































