
कैलाली । ईलाका प्रहरी कार्यालय बौनियाँले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले बर्दगोरिया गाउँपालिका क्षेत्रका विभिन्न बजारहरूबाट अवैध घरेलु मदिरा बरामद गरेको थियो ।
२ सय लिटर घरेलु मदिरा, एक सय लिटर जाँड बनाउन प्रयोग हुने तरल कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग हुने २ सय ३० गोटा ठोस कच्चा पदार्थ बरामद गरेको इलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरीक्षक महेश विक्रम शाहीले जानकारी दिए । यस्तै प्रहरीले बोतलमा बेच्न राखेको अवस्थाका करिब २० लिटर पेट्रोल समेत बरामद गरेको छ ।
बरामद मदिरा जनप्रतिनिधि, बजार समिति तथा सरोकारवालाहरूको रोहबरमा नष्ट गरिएको छ । यो अभियानलाई निरन्तरता दिने प्रहरीको योजना छ । अवैध लोकल मदिरा सँगै पसलेहरूले बोतलमा तथा पम्पले ड्रम र जर्किनहरूमा पेट्रोल नबेच्न पनि प्रहरीले आग्रह गरेको छ । आग्रहलाई बेवास्ता गरे कारबाही गर्ने प्रहरीको भनाई छ ।