कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले कृषकहरुलाई हिउँदे घाँस (वर्षिम) को विउ वितरण गरेको छ । कृषकको मागको आधारमा पालिकाको पशु सेवा शाखाले हिउँदे घाँस (वर्षिम) को वितरण सुरु गरेको हो ।
पालिकाको पशु शाखा र पशु इकाईमार्फत बुधबारदेखि सो घासको बीउ वितरणको कार्य थालिएको हो । व्यवसायिक पशुपालन गर्दै आइरहेका कृषकलाई हिउँदे घाँसको बिउ वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।
यसैबीच बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय पृथ्वीपुरमा रहेको पशु सेवा इकाईबाट समेत घासको बीउ वितरण गरिएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले किसानलाई घासको बीउ वितरण कार्यको उद्घाटन गर्नुभएको छ ।घाँसको बिउ वितरण गर्दै वडा अध्यक्ष थारुले कृषकलाई घाँस खेतीमा आकर्षण गर्दै पशुपालन व्यवसायलाई थप बृद्धि गरिने बताउनुभयो ।
पशुपालनको क्षेत्रमा गाउँपालिकाले लगानी गर्दै आएको र घाँस खेतीबिना पशुपालन व्यवसाय सञ्चालन गर्न समस्या हुने भएकाले पशुको आहारको लागि पनि घाँस खेती अनिवार्य भएको उहाँले बताउनुभयो ।कार्यक्रममा वडा सचिब मदन जोशी, पशु सेवा इकाई प्रमुख युवराज कठरिया लगाएतको उपस्थिति थियो ।




























































































































































