
कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ५ कटौजेमा शुभ दिपावली एवम् छठ पर्वको अवसरमा टोल स्तरीय दोश्रो वडा अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय श्री राष्ट्रिय मा.वि श्रीपुर पाल्साको खेल मैदानमा संचालन हुने उक्त कार्यक्रम मोहन्याल गाउँपालिका वडा नं ५ ले आयोजना गर्ने भएको हो ।
उक्त प्रतियोगिता कात्तिक १८ गतेदेखि २५ गतेसम्म संचालन हुने मोहन्याल गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष प्रविण घर्तीमगरले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा सहभागी हुन यही कार्तिक १३ गतेदेखि कात्तिक १७ गतेसम्म टिमसहित निवेदन दर्ता गर्नुपर्नेछ ।
उक्त प्रतियोगितामा फुटबल तर्फ प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद १३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तेश्रो हुनेलाई ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
भलिबल तर्फ प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तेश्रो हुनेलाई ४ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
टिम दर्ता शुल्क फुटबल तर्फ २१५५ रुपैयाँ र भलिबल प्रतियोगिता तर्फ १२५५ रुपैयाँ रहेको छ भने खेल लिगकम नकआउटका आधारमा खेलाइने वडाध्यक्ष घर्तीमगरले वैज्ञानिक मिडियालाई जानकारी दिनु भएको छ।