
काठमाडौँ । चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ ।यद्यपि भारतले उनीहरुलाई अस्वीकार गर्दै आएको छ । भारतले चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको छ ।
चीनको आधिकारिक पत्रिका ‘ग्लोबल टाइम्स’ को रिपोर्ट अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम) मा ३० स्थानको नयाँ नाम जारी गरेको हो ।रिपोर्टमा २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो । जसमा ६ वटा नयाँ नाम समावेश भएका थिए । २०२१ मा १५ स्थानको नयाँ नाम दिइएको थियो । जहाँ २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो ।
हालै चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा पनि आपत्ति जनाएको थियो । त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए ।चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले त्यसको जवाफ दिदै अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो ।