रौतहट । रौतहटको कटहरिया नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत बिहिन हुँदा सम्पूर्ण सेवा ठप्प भएको छ ।निलम्बित मेयर अजय प्रकाश जैसवालले नगरका अग्रज कर्मचारीलाई पाखा लगाउँदै आफ्ना पाकिटका कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन खोजेको कारण समस्या बल्झिएको हो ।
नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा आर्थिक प्रशासनिक सम्पूर्ण काम ठप्प भएको छ । अधिक्रित नहुँदा सेवाग्राहीको बिभिन्न सिफारिस, विपन्नले पाउने आर्थिक सहयोग बन्द भएको छ । शिक्षक, कर्मचारीले तलब पाउन सकेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया, सबै ९ वडाका स्वास्थ चौकी, आयुर्वेदिक अस्पतालमा औषधी अभाव भएको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्। त्यस्तै नगरको स्टोर सामग्री अभावले कार्यालय सञ्चालनमा समस्या भएको छ भने तेल नहुँदा नगरपालिकाको एम्बुलेन्स र शौचालय सफाईको गाड़ी थन्किएको छ ।
बाहिर अस्पतालमा उपचार गराउने नगरको गरिब बिपन्न सिफारिसको अभावमा छुट पाउन सकेका छैनन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उप सचिव सुरेन्द्र प्रधान साउनको पहिलो साता अन्यत्र सरुवा भएका थिए। त्यस पछि पटकपटक प्रमुख प्रशासकीय अधिकृत को लागि मन्त्रालयमा जाँदा दरबन्दी कायम हुन सकेको छैन । असारको दोस्रो साता निलम्बनमा परेका मेयर अजय प्रकाश जैसवालले एकजना कनिष्ट कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृतको रूपमा ल्याउन खोजेको कारण हालसम्म बिहिन रहेको छ । उनले संघीय मामिला मन्त्रालयमा आर्थिक चलखेलको भरमा एकजना संकेत नम्बर समेत नभएका कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृत बनाउन प्रयास गरिरहेको कटहरिया ५ का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापती सर्फलाल प्रसादले आरोप लगाएका छन् ।
निलम्बित मेयर जैसवालको ईशारामा उनको पक्षको कार्यपालिका बोर्डबाट कनिष्ट कर्मचारीको प्रस्ताव अघि सारिएपछि कटहरिया स्थित कार्यरत सातौँ तहका स्वास्थ कर्मचारी हरिनारायण साहले त्यसो नगर्न अथवा अग्रज कर्मचारी लाई जिम्मेवारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित उजुरी दिएका छन् । लिखित उजुरी पछी प्रमुख प्रशासकीय अधिकृत तोक्न सकिएको छैन ।
निलम्बित मेयर जैसवाल विगत देखिनै साधारण कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृत बनाई ल्याएर सम्पूर्ण काममा कमिसन लिने गरेको आरोप लाग्दै आएको छ । शिक्षा, स्वास्थ, विकास निर्माण, करार कर्मचारीको तलबको नाउँमा, तेलको नाउँमा करोडौँ भुक्तानी लिने गरेको वडा ५ का अध्यक्ष सर्फलाल प्रसादको दाबी रहेको छ ।
त्यस्तै अधिकृतको भरमा जैसवालले करार कर्मचारीको तलबको नाउँमा करोडौं, तेल को नाउँमा ८० लाख, डिपिआर (स्वायल टेस्ट) को नाउँमा ५० लाख , आर्थिक सहयोगको नाउँमा ५० लाख, बिपद व्यवस्थापनको नाउँमा ५० लाख, म्याचिङ्ग फन्डमा ३ करोड, शिक्षक भर्नाको नाउँमा १ करोड २० लाख औषधी खरिदमा ७७ लाख निकासा गरेको अध्यक्ष सर्फलाल प्रसादले जानकारी दिएका छन् ।
कटहरिया नगरपालिकामा दरबन्दी अनुसार उपसचिव अथवा प्रशासकिय अधिकृत प्रमुखको रूपमा गएमा कानुन अनुसार काम गर्छन् कसैको दवाबमा पर्दैनन्। तर मात्र तोक आदेशको भरमा भुक्तानी गराई भ्रष्टाचार गर्न साधारण कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृत बनाउन निलम्वित मेयर जैसवाल सहित नेपाली कांग्रेसका केही नेताहरुले मन्त्रालयमा चलखेल गरिरहेको कटहरियाका जनप्रतिनिधिले आरोप लगाएका छन्। कटहरियाका निलम्बित मेयर अजय प्रकाश जैसवालले सम्पूर्ण आरोपको खण्डन गरेका छन् ।
म आफै निलम्बनमा परेर समस्यामा छु, मेरो कुरा कता चल्छ, मैले कसैको सिफारिस गरेको छैन, नियमानुसार प्रमुख प्रशासकीय अधिकृत जो भए पनि मलाई स्वीकार हुन्छ, जैसवालले प्रतिक्रिया दिएका छन् । जैसवाल निलम्बित भएपछि अहिले कटहरिया नगर कार्यपालिका सदस्यहरु बिभाजित भएका छन् । कार्यपालिका सदस्य १४ मध्ये आधाजसो उनले भने अनुसारको कर्मचारीको सिफारिस गरिरहेका छन् भने बाँकीले विरोध जनाउँदै आएका छन् ।
























































































































































