
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप्त उजुरीको विषयमा छलफल गर्ने कार्यसूची छ। बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने छ ।
साथै आजको बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम आज कार्यतालिका तयार गरिनेछ ।साथै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने पनि समितिले सूचनामा उल्लेख गरेको छ ।
संवैधानिक परिषदले गत भदौ ३१ गते सर्वोच्च अदालतको प्रधानन्याधिशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ । यसैबीच प्रस्तावित प्रधान्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी परेको बताइएको छ । असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधिशमा सिफारिस राउतविरुद्ध उजुरी आह्वान गरेको थियो ।