पथरी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित डाँस खोलादेखि कानेपोखरीको चिसाङ खोलासम्मको उत्तरी भेगमा रहेको राष्ट्रिय वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत व्यवस्थापन गर्न लागेको भन्दै १३ वटा सामुदायिक वनले आपत्ति जनाएका छन्।
सामुदायिक बन उपभोक्ता महासंघ अन्तर्गत रहेका पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ४-४ र लेटाङ नगरपालिकाका ५ वटा सामुदायिक वनका प्रतिनिधि तथा वन अभियान्ताहरूले सोमबार डिभिजन वन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयको विरोध गरेका छन्।
कानेपोखरी,लेटाङ र पथरीशनिश्चरेका १३ वटा सामुदायिक वनले छोएको उक्त राष्ट्रिय वन करिब १ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ।सामुदायिक वनमा उपभोक्ताको संख्या दिनानुदिन बढ्दो रुपमा गइरहेको अवस्थामा सोही १३ वटा वनका उपभोक्ताले रेखदेख गर्दै आइरहेको राष्ट्रिय वन समुदायलाई नै हस्तान्तरण गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
उक्त वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत लैजाँदा संरक्षित राष्ट्रिय वनलाई स्थानीयस्तरबाट संरक्षणको कार्य निरन्तर भइरहेको भए पनि सेवा सुविधाबाट बञ्चित गरिँदा स्थानीय उपभोक्तालाई अन्याय हुने सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले बताए।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ मोरङको नेतृत्वमा डिभिजन वन कार्यलय मोरङ पुगेको उक्त टोलिले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी समेत दिएको छ।
         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































