
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बजेटले दलाल पुँजीवादलाई प्रोत्साहित गरेको टिप्पणी गरेका छन् ।राष्ट्रिय सभामा आर्थिक बर्ष २०८२-८३ को बजेटमाथिको छलफलमा भाग लिदै श्रेष्ठले बजेटले राष्ट्रिय पुँजीको निर्माण गर्ने र संबिधानको भावना अनुसारको बजेट आउन नसकेको टिप्पणी गरेका हुन् ।
उनले अहिले निर्यात अलिकति बढेको देशमा उत्पादन बढेर नभएर माग संकुचन भएर, आर्थिक शिथिलता बढेर निर्यात बढेको जस्तो देखिएको बताएका छन् ।श्रेष्ठले बजेटले आर्थिक वृद्धिमा योगदान गर्न नसक्ने दाबि गर्दै भने- ‘बजेटले ६ प्रतिशत आर्थिक वृद्धिको कुरा गरेको छ । यो बजेट विन्यासको अवस्था हेर्दा ६ प्रतिशत आर्थिक वृद्धि हुने कुनै पनि अवस्थामा हुन सक्दैन । यो ४.५ प्रतिशतको आर्थिक वृद्धिको वरिपरी हुने देखिन्छ । त्यो भन्दा माथि जादैन ।’
श्रेष्ठले अहिले सुशासन, उत्पादन, लगानी, रोजगारी र स्रोतको व्यवस्थापनको व्यवस्था, पुँजीगत खर्च बढाउने नीतिको आवश्यक रहे पनि बजेटले त्यसलाई सम्बोधन गर्न नसकेको बताए । बजेटले स्टार्टअपलाई प्रोत्साहन गर्ने र अन्य केहि ससाना प्रयासले अहिले आर्थिक रुपमा फड्को मार्न नसकिने बताउदै पुँजीगत खर्च बढाउने योजना नै नआएको बताए ।उनले खराब कर्जा र जग्गाको मौद्रिकरणले देशको आर्थिक अवस्था बिग्रिएको बताउदै सरकारको ध्यानाकर्षण गराएका छन् ।