बर्दगोरियाले थाल्यो महेन्द्र राजमार्गको क्षेत्र बिस्तारको काम  

कैलाली । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका क्षेत्र भित्र सडकको क्षेत्र बिस्तारको काम सुरु भएको छ । साँघुरो सडकका कारण हुने दुर्घटना घटाउन, कालोपत्रे बचाउन तथा बजारको स्वरूप सुन्दर बनाउन गाउँपालिकाले बजार क्षेत्रमा सडक बिस्तारको काम थालेको हो ।

 

सडक बिस्तार सँगै गाउँपालिकाले सडकको सतह समेत मिलाउन थालेको छ । विगतमा सडक कालोपत्रेको भाग र सडकको बाहिरी क्षेत्रको सतह बढाउन सडक डिभिजन र व्यापारीहरू बिच प्रतिस्पर्धा नै चल्ने गरेको थियो । जसका कारण कालोपत्रेको भाग गहिरो भई सडक बिग्रने र भत्कने समस्या थियो । तर अब भने सडक भत्कने समस्या कम हुने अपेक्षा गाउँपालिकाको छ ।

 

“पहिले व्यापारीहरूले पसल अघि भरान गर्दा पानी सडकमा बग्ने, फेरी सडक डिभिजनले कालोपत्रेको सतह केही उठाउँदा पानी व्यापारिकै पसल तिर बग्ने, फेरी व्यापारीले भरान गर्दा पानी पुनः सडकमा बग्ने र कालोपत्रे चाँडै भत्किने समस्या थियो । अहिले नाला बन्ने क्रम एकातिर अघि बढेको छ भने सडकको सतह मिलाउने र क्षेत्र बिस्तार गर्ने काम अर्को तिर चलेको छ ।” गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले भने ।

 

सडक क्षेत्र बिस्तार तथा सतह मिलानका लागी गाउँपालिकाले आफ्ना श्रोत साधनहरूको भरपुर उपयोग गरिरहेको छ । कालोपत्रेको भागलाई केही माथि राख्ने र पानी सडकको छेउमा बग्ने गरी सतह मिलाउने तथा त्यसलाई पानी पिच गरिने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले जानकारी दिए । “बौनिया र मुडा बजार गाउँपालिकाका मुख्य बजार हुन । यी बजारलाई व्यवस्थित गर्दै यात्रुहरूको यात्रा सुरक्षित बनाउने हाम्रो लक्ष्य छ । अहिले बौनिया बजारमा काम चलिरहेको छ । त्यस लगत्तै मुडा बजारमा सडक क्षेत्र बिस्तारको काम अघि बढ्छ ।” उनले भने ।

 

उसो त यो सडक निर्माण, मर्मत तथा बिस्तारको जिम्मेवारी सडक डिभिजन कार्यालय महेन्द्रनगरको हो । बजार क्षेत्रमा सडक बिस्तार गरिदिन बारम्बार आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि गाउँपालिका आफै सडक क्षेत्र बिस्तारको काममा जुटेको हो । कालोपत्रे सडक भन्दा माथि सतह भएको ठाउँमा भरान हटाउने तथा भरान नभएका ठाउँमा भरान गर्ने काम अहिले धमाधम चलिरहेको छ । सडक क्षेत्र बिस्तारले दुर्घटना कमी हुने तथा बजारको सुन्दरतामा समेत बल पुग्ने भन्दै स्थानीयवासी गाउँपालिकाको कामबाट निकै खुसी भएका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?