सन्तोषले प्रत्यक्ष गाए मुक्तक, बन्यो ऐतिहासिक

काठमाडौं । 

‘नरोऊ पियारी रुँदा दाग लाग्छ
र, उत्ताउलीझैँ हुँदा दाग लाग्छ
उनी चन्द्रझैँ स्निग्ध, कन्चन, सफा छिन्
नछोऊ कसैले छुँदा दाग लाग्छ’

गणेशप्रसाद खतिवडाका यी मुक्तक विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले साजबाजसहित गाउँदा हल प्रेमिल बनेको थियो ।शनिबार काठमाडौँमा दियालो साहित्य सरगमले आयोजना गरेको ‘वाह १ यस्तो पो मुक्तक १’ कार्यक्रममा नेपाली सांगीतिक इतिहासमै पहिलो पटक छन्द÷बहरमा रचना गरिएका मुक्तक प्रत्यक्ष गायन गरियो ।शान्ति शर्मा, शिवराम खड्का र गणेशप्रसाद खतिवडाका ३÷३ वटा मुक्तक सन्तोषले साजबाजसहित गाएका थिए । सन्तोषलाई तबलामा रमेश डंगोल र बाँसुरीमा डम्बर खड्काथोकीले साथ दिएका थिए ।

‘तिमी सोह्र शृंगार लाएर बस्नू
भन्यौ, ‘सुस्तरी छेउ आएर बस्नू’
म आएँ हजुरकै इशारा मुताबिक
छ केके खजाना लुकाएर बस्नू’

मुक्तककार राधा कणेल यसरी प्रेमिल बनेर पोखिएपछि माहोल साँच्चै  ‘वाह’ बन्दै गयो । त्यही बेला सन्तोष गुञ्जिए शान्ति शर्माका शब्दमा,

‘समाऊ दह्रो प्रेमका आज हात
जमाऊ नरम ज्यानमा राजकाज
म रोऊँ, कराऊँ कतै भित्र डुब्दै
चलोस् हुन्डरी प्रेमको बस्तीमाझ’

कणेलसहित सबिता बराल, सिर्जना सरोबर र रत्न विरही घिमिरेले ५÷५ वटा मुक्तक तरन्नुममा वाचन गरेका थिए ।

प्रमुख अतिथिका रूपमा उपस्थित प्रा.डा. देवी नेपालले नेपालमा छन्द÷बहरमा रचित मुक्तकको गायन भएको पहिलो भन्दै यो कार्यक्रम ऐतिहासिक बनेको बताए । छन्द÷बहरका गजल गायनको स्वर्ण दशक अभियानमा गजलकार घनेन्द्र ओझा र संगीतकार सन्तोष श्रेष्ठ जुटिरहेका बेला दियालो साहित्य सरगम मुक्तक गायनमा जुट्नु खुसीको कुरा भएको नेपालको भनाइ थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?