रौतहट। रौतहट जिल्लामा वन तस्करीमा प्रयोग भएको भारटिय नम्बर प्लेटको एक स्कार्पियो गाडीसहित ठूलो परिमाणमा सालको काठ बरामद गरिएको छ।जङ्गलसहिया सव डिभिजन वन कार्यालयको गस्ती टोलीले कटहरिया नगरपालिका–१, भसेडवा क्षेत्रबाट उक्त गाडी नियन्त्रणमा लिएको हो।
गस्ती टोलीको नेतृत्व वन अधिकृत विनोद जेठराले गरेका थिए भने टोलीमा सशस्त्र प्रहरी बलका जमदार उपेन्द्र यादवको समेत सक्रिय सहभागिता थियो। टोलीले राति करिब ८ बजे भारतको नम्बर प्लेट एम एच ०४ डी बी ६३५३ भएको स्कार्पियो गाडीलाई शंकास्पद देखेर रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए। करिब ७ किलोमिटरसम्म पछ्याएर उक्त गाडी नियन्त्रणमा लिइएको हो।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साहले स्कार्पियो गाडीभित्र ४ थान सालको गोलिया, करिब ४५ क्युफिट काठ फेला परेको न्युज कारखाना लाई बताएका छन् । बरामद काठको बजार मूल्य दुई लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। हालसम्म फरार रहेका चालकको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी साहले दिएका छन्।
यसैबीच, डिभिजन वन कार्यालय रौतहट अन्तर्गत गैंडाटार सव डिभिजन वन कार्यालयको टोलीले बिहीवार राति गैंडाटार गाउँस्थित कालापानी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको घाटगद्दि पश्चिमको वनबाट तस्करीका लागि तयारी अवस्थामा राखिएको सालको चिरान काठ बरामद गरेको छ। रेन्जर लक्ष्मी कर्णको नेतृत्वमा गरिएको गस्तीटोलीले तस्करहरूले प्रयोग गरेको दुई वटा साइकलमा लोड गरिएको सालको काठ फेला पारिएको हो।
रौतहटमा डिभिजन प्रमुखको जिम्मेवारी सम्हालेदेखि हेमन्त कुमार साहको नेतृत्वमा भइरहेको अवैध काठ कटान तथा तस्करी नियन्त्रण अभियान प्रभावकारी देखिएको छ। लगातार गस्ती, निगरानी र सहकार्यमार्फत तस्करीमा संलग्न गिरोहमाथि कडा निगरानी राखिएको वन कार्यालयले जनाएको छ।




























































































































































