
नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो । विद्यालयलक्षित प्रतियोगितामा आठ, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।
कुनै सङ्घ, संस्था वा क्लबले पनि संस्थागत रूपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । आठ वर्षमूनि उमेर समूहका खेलाडीले २५ मिटर, १० मुनिकालाई ५० मिटर, १२ र १४ मुनिका खेलाडीबीच ५० र १०० मिटर तथा खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दूरीका विभिन्न ५६ वटा ‘इभेन्ट’ हुनेछन् । क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले नेपाल पौडी सङ्घको केन्द्रीय वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।