भक्तपुर। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी भएको बताउनुभयो । यसअघि पनि देशभरका सबै पालिकामा युवापरिषद् वा युवाका नाममा कुनै सञ्जाल गठन गर्न सरकारले निर्णय गरे पनि कार्यान्वयनमा कठिनाइ भएको बताउँदै अब युवा यसका लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।
प्रत्येक पालिकादेखि देशभर रहेको ५० हजार सार्वजनिक सेवा प्रदायक संस्था एवं कार्यालयमा भएको बेथितिको अन्त्य गर्न प्रत्येक पालिकामा युवापरिषद् गठन गर्नु अतिआवश्यक रहेको बताउँदै सार्वजनिक सेवा प्रदायक निकायलाई जवाफदहिता बनाउनुपर्नेमा जोड दिनभयो । मन्त्रालयले केही दिन अगाडि मात्रै युवा नीति पारित गरेको बताउदै उहाँले शिक्षा, स्वास्थ्यदेखि देशको विकासको मूल प्रवाहमा युवा नेतृत्वलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवापरिषद्का प्रशासकीय प्रमुख गेहनाथ भण्डारीले मुलुकको परिवर्तन र अवस्थाको पहिचान गर्दै देशलाई सही दिशामा लगेर देशको नीतिनिर्माण तहको नेतृत्वदेखि देशको मूलधारमा लैजान आजको छलफल महत्वपूर्ण भएको बताउनुभयो । देशको हरेक निकायमा युवाको सहभागिता बढाउँदै युवाको भावनालाई परिवर्तनसँगै लैजान भएको छलफलबाट निस्किएको उपलब्धि र सुझावलाई समेटेर प्रतिवेदन बनाइ सरकारलाई पेश गर्ने उहाँले बताउनुभयो ।
युएनएफपिएका कार्यक्रम विज्ञ अभिराम रोयले युवाले ल्याएको परिवर्तनमा देश बनाउने रोडम्याप पनि युवाबाटै आउनुपर्ने बताउँदै देशभर युवाको भूमिका र सहभागितालाई राज्यको हरेक क्षेत्रमा पु¥याउनु आवश्यक रहेको बताउनुभयो । देशको बदलिँदो अवस्थामा अब देशलाई कता लैजाने भनेर देशभरका युवाको टाक्स फोर्स गठन गरेर राज्यको हरेक तहमा युवाको सहभागिता र नेतृत्व तहमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय युवापरिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा सहभागिता संवाद कार्यक्रमले युवाको भावना, देशप्रतिको भावि लक्ष्यलाई प्रतिविम्बित गर्दै संवादबाट आएका सुझाव एकीकृत गरी कार्यान्वनका लागि तयार भएको बताउनुभयो । उहाँले संवादबाट तयार भएको प्रारिम्भक ‘रोडम्याप’लाई प्रतिवेदनको स्वरुप दिएर सरकारलाई प्रदान गरिने बताउनुभयो ।
उहाँले आजको संवादमा युवाबीच दिगो विकासमा युवाको भूमिका, नयाँ पुस्ताका अपेक्षा र राज्यले लिनुपर्ने कदम, युवा मैत्री सुशासन र प्रभावकारी सेवा प्रवाह, उत्तरदायी सामाजिक सञ्जाल तथा सूचना प्रविधि गरी चार विषयमा जेनजी युवापुस्ताले गम्भीर छलफल गरेको बताउनुभयो । विज्ञ डा दिपेश घिमिरेले परिवर्तित अवस्थामा युवाले नीति निर्माणदेखि नेतृत्व तहसम्म पुग्नका लागि खेल्नुपर्ने भूमिकाबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।



























































































































































