काठमाडौँ, भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कालीकोटको खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र सोही ठाउँका २८ वर्षीय कृष्णबहादुर शाहीलाई दुई थान भालुको पित्त जस्तो वस्तुसहित गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद–बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

























































































































































