लुम्बिनी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको उक्त भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रम कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले सङ्घीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले नेपाल–बेलायतबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा प्रत्यक्ष तथा अप्रत्यक्ष जटिलता देखापरेको र त्यसले प्रशासनिक तथा भौतिक संरचनामा असर पारेको बताउनुभयो । उहाँले प्रदेश सरकारले अघि सारेका कार्यक्रमलाई निरन्तरता दिइरहेको र बेलायती सरकारबाट निर्दिष्ट कार्यक्रमलाई पनि स्थायित्वका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सङ्घीयतालाई बलियो बनाउने, जनतासँग जोडिएका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सुशासन प्रवद्र्धनका क्षेत्रमा आपसी सहकार्यको आशा गरिएको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख रहेको जानकारी दिँदै चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गर्नुपरेको जानकारी गराउनुभयो । त्यसभित्र जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका कार्यक्रममा कटौती नगर्ने नीति लिइएको स्पष्ट पार्नुभयो । उहाँले आगामी पाँच वर्षभित्र सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
भेटका क्रममा बेलायती दूतावासका प्रतिनिधि लङले नेपाल र बेलायतबीचको सम्बन्ध अझ सुदृढ बनाउने तथा दुबै सरकार मिलेर सुशासन, विकास र सङ्घीय अभ्यास सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा दोस्रो आवधिक योजनाको कार्यान्वयनमा बेलायती सहयोग रहने विश्वास दिलाउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)























































































































































