 
                        काठमाडौँ,  नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ ।खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय गर्नुभएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयोे ।
रावलका अनुसार समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य चयन हुनुभएको छ । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ ।
खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नुहुनेछ ।
यसैगरी, निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्नुहुने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
–––
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                






























 
                     
                     
                     
                     
                    

























































































































