कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई ब्रेकरमा कोटागढीका लागी बोधराज भण्डारी, अनिल चौधरी र राजेश सुनारले एक एक गोल गरे । यस्तै बौनियाका लागी नृप साउँद र विकास मल्लले एक एक गोल गरे ।
कोटागढीले सेमिफाइनल खेलमा सामुदायिक शिक्षकलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । भने बौनिया बजारले आयोजक बर्दगोरिया पत्रकार मञ्चलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । विजेता बनेको कोटागढी बजारले ४५ केजीको खसी र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको बौनिया बजारले २५ केजीको बोका र ट्रफी प्राप्त गरेको छ ।
बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा “पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल” भन्ने मूल नाराका साथ शुक्रवारबाट सुरु भएको प्रतियोगितामा बर्दगोरिया पत्रकार मञ्च, गाउँपालिकाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, बौनिया बजार, प्रस्तावित कोटागढी बजार, पालिकाका सामुदायिक विद्यालय, संस्थागत विद्यालय र बर्दगोरिया यातायात प्रा.ली.गरी ८ टिमको सहभागिता रहेको छ ।




























































































































































