वीरगञ्ज (पर्सा), चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ ।
गत आवको तीन महिनामा भने ९७ मात्रै विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट रु नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।
चालु आवको तीन महिनामा रु २८ करोड ७९ लाख मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने रु २१ करोड १७ लाख मूल्य पर्ने एक हजार चार सय ८१ विद्युतीय मोटरसाइकल आयात भएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)






























































































































































