काठमाडौँ, आज नोभेम्बर १७ प्रत्येक वर्ष यस दिन समय अगावै जन्मिएका नवजात शिशु दिवस (वल्र्ड प्रिम्याचुरिटी डे) मनाउने गरिन्छ ।चिकित्सकका अनुसार समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्छ र त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी छ । यस दिवसले समयपूर्व जन्मिएका शिशुहरू र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राख्दछ ।
आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा एली प्रधान रञ्जितकारले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताउँदै समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “त्यस्ता शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’(आरओपी) जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । गर्नुभएको छैन भने परीक्षण गराउनुपर्छ नभए जोखिम बढ्दै जान्छ ।”
बाल आँखा रोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा केही समस्या देखिन सक्छ । उहाँले भन्नुभयो, “जसमा आँखाको पर्दामा रगत जम्ने र समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ ।”
डा प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छिन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । उहाँले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू¬) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































