ललितपुर, ललितपुरको पाटन यतिबेला कलामय बनेको छ । यहाँ फोटो सर्कलको आयोजनामा ‘फोटो काठमाडौँ महोत्सव’ भइरहेको छ । गत कात्तिक २८ गतेदेखि सुरु भएको महोत्सव मङ्सिर २८ सम्म सञ्चालन हुनेछ । महोत्सवमा पाटनका विभिन्न रोचक र ऐतिहासिक तस्बिरहरु अवलोकन गर्न सकिन्छ ।
यहाँ विशेषगरी युवा पुस्ताले महोत्सवमा प्रदर्शनका लागि राखिएका तस्बिरलाई रुतिपूर्वक अवलोकन गर्ने गरेका महोत्सव आयोजक संस्थाका प्रतिनिधि निशी रुङ्गटाले बताउनुभयो ।महोत्सवका अवसरमा यहीबीचमा फोटोपत्रकार उषा तितिक्षुलाई ‘फोटो काठमाडौँ २०८२’ विशिष्ट सम्मान प्रदान गरिएको छ । सल्यानमा जन्मिनुभएकी तितिक्षुले सानै उमेरदेखि फोटोग्राफी गरिरहनुभएको थियो ।
सन् २००७ मा स्थापना भएको फोटो डट सर्कल कलाकारको नेतृत्वमा रहेको एक अन्तरविषयक सङ्गठन हो । यसले सामाजिक परिवर्तनमा संलग्न हुन दृश्य कथाकार, अनुसन्धानकर्ता, शिक्षक, अभियानकर्मी तथा अन्य सांस्कृतिक निर्माताका लागि स्रोतको सिर्जना गर्छ । फोटो सर्कलले नेपाल पिक्चर लाइब्रेरीको व्यवस्थापन पनि गरिरहेको छ, यस डिजिटल अभिलेखमा नेपालको बहुसांस्कृतिक पक्ष र बहुलवादी प्रतिनिधित्वलगायत विषय रहेका छन् ।




























































































































































