कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम भण्डारी (पीआर) ले सहाराघर बौनियाका सञ्चालक बलबहादुर बिष्टलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूबाट संकलन गरिएको नगद २० हजार रुपैयाँसहित दाल, चामल, नुनलगायतका खाद्यान्न सामग्री सहाराघर बौनियालाई प्रदान गरिएको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय प्रशासनले यस्ता सामाजिक कार्यमार्फत विद्यार्थीहरूमा सहयोग, सहानुभूति, मानवीय भावना तथा सामाजिक उत्तरदायित्वको विकास हुने विश्वास व्यक्त गरेको छ। आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने विद्यालयले प्रतिबद्धता जनाएको छ।




















































































































































