धनगढी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिक जोगबुढा नदीमा फसेको बाघको बच्चा (डमरू)को उद्धार नहुँदा मृत्यु भएको छ।
नदीको हिलो र पानीमा फसेको अवस्थामा बुधबार बिहान करिब दुई महिनाको डमरू फेला परेको थियो। स्थानीयले तत्काल डिभिजन वन कार्यालय कञ्चनपुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई जानकारी गराएका थिए। तर समयमै उद्धार नहुँदा डमरूको ज्यान गएको स्थानीयको भनाइ छ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण डमरूको मृत्यु भएको दाबी गरे। उनले डमरू फसेको जानकारी पाएपछि आफू उद्धारका लागि घटनास्थल जान खोज्दा सशस्त्र प्रहरीले निकुञ्जका वार्डेनको अनुमति नदिई जान नदिएको बताए। निकुञ्जले आफैं उद्धार नगरेको र वन कार्यालयको टोलीलाई समेत रोकेको कारण डमरूको मृत्यु भएको उनको आरोप छ।
तर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले उद्धारमा ढिलाइ भएको भन्ने आरोप अस्वीकार गरेका छन्। उनका अनुसार दिउँसो करिब २ बजे डमरू नदीमा फसेको खबर प्राप्त भएपछि चिकित्सकसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो।
बघिनी (माउ बाघ) वरपर नै रहेको देखिएकाले माउले नै बच्चा लगोस् भन्ने उद्देश्यले टोलीले निगरानी गर्दै रातिसम्म कुर्दा पनि डमरूको ज्यान जोगाउन नसकिएको चौधरीले बताए।
‘उद्धार टोली नगएको भन्ने कुरा गलत हो,’ उनले भने, ‘माउ नजिकै भएकाले प्राकृतिक रूपमा उद्धार हुने आशामा प्राविधिक टोली कुरेर बसेको थियो तर दुर्भाग्यवश डमरूको मृत्यु भयो।’
हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ४४ वटा बाघ संरक्षणमा रहेको निकुञ्जले जनाएको छ।



























































































































































