कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ४ स्थित निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक आय–व्यय विवरण सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि नीति, योजना तथा कार्यक्रम पारित गरेको छ। संस्थाकी व्यवस्थापक रमेनी चौधरीले प्रस्तुत गर्नुभएको आय–व्यय विवरणअनुसार संस्थाले २ करोड ८५ लाख ८२ हजार ८ सय ३८ रुपैयाँ ०३ पैसाको कारोबार गर्दै ६ लाख ३ हजार ८ सय २९ रुपैयाँ ४१ पैसा खुद मुनाफा आर्जन गरेको जानकारी दिनुभयो।
त्यसैगरी आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट सहायक व्यवस्थापक फूलकुमारी बडायकले ३ करोड १५ लाख ५१ हजार ४ सय ३४ रुपैयाँ ७३ पैसाको बजेट प्रस्तुत गर्नुभयो।
संस्थाकी कार्यबाहक अध्यक्ष रमिता कुमारी साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगतबहादुर शाही प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। त्यस्तै, बर्दगोरिया गाउँपालिका वडा नं. ६ की वडा सदस्य नेहा कुमारी चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा संस्थाकी सदस्य अनिता थापा साउँदले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साधारण सभामा गैरीगाउँ खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष देवानन्द जैशी, डफ युवा क्लबका अध्यक्ष घनश्याम कुँवर, सगरमाथा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर चौधरी, जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक यज्ञ घर्ती मगर, सहायक प्रधानाध्यापक बलबहादुर डगौरा, सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष दिल बहादुर सापकोटा, पुरैना ताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एकेन्द्र बहादुर साउँद, असल सृजना कृषि सहकारी संस्थाकी व्यवस्थापक सुनिता चौधरी, असल छिमेकी कृषि सहकारी संस्थाकी व्यवस्थापक कविता चौधरी, देउराली भन्ज्याङ कृषि सहकारी संस्था कि व्यवस्थापक आशा चौधरी, सुनौलो भविष्य कृषि सहकारी संस्था कि व्यवस्थापक रीमा चौधरी र निमुवाबोझी गाउँ पूर्व भलभाषा चुल्लुलाल चौधरी लगायत समाजसेवी, बुद्धिजीवी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाकी सहायक व्यवस्थापक आशिका चौधरीले गर्नुभएको थियो। हाल संस्थामा बर्दगोरिया गाउँपालिका वडा नं. ४, ५ र ६ का गरी कुल १ हजार ८ जना सेयर सदस्य आबद्ध रहेका छन्।















































































































































