नेपालगञ्ज, पशुपक्षीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन (एफएओ) काठमाडाैँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा यहाँ भएको अन्तरक्रियामा सरोकार भएकाले पशुपक्षीमा जथाभावी एन्टिबायोटिकले समस्या बढाउने भएकाले प्रयोग नगर्न आग्रह गरिएको हो ।
बिरामी पशुपक्षीलाई पशु चिकित्सकको सल्लाहबिना उपचार गर्ने र अनावश्यक औषधिको प्रयोगले समस्या घट्नुको साटो बढ्दै गएको सरोकार भएकाको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा गणेश पुनले पशुपालन गर्ने किसानले सम्बन्धित भेटेरिनरीसँग परामर्श गरेर मात्र औषधि प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले बजार अनुगमनका क्रममा अनुगमनकर्तालाई अधिकार प्रत्यायोजन गर्न सके केही मात्रामा सुधार आउने उल्लेख गर्नुभयो ।
भेटेरिनरी अस्पतालका अधिकृत भोजराज रावलले अनुगमन टोलीले दिएको निर्देशन खाद्य व्यवसायीले पालना नगर्ने भेटिएकाले यसमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । कुखुरा व्यवसायी मञ्चका अध्यक्ष धर्मराज पोखरेलले भारतबाट अवैध रूपमा भित्रने कुखुरा तथा माछा दाना र अण्डालाई रोक्न नसक्दा समस्या बढ्दै गएको गुनासो गर्नुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले खाद्य वस्तुको स्वच्छता बिगार्ने प्रमुख कारकतत्व भौतिक, रासायनिक र जैविक भएकाले खाद्य सुरक्षामा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । यसको असर पाँच वर्षमुनिका बालबालिकामा पर्ने तथ्याङ्कले देखाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले दूषित खाद्यपदार्थ बिक्री वितरण पूर्ण रूपमा बन्द गरिनुपर्नेमा जोड दिँदै न्यूनस्तरको खाद्य पदार्थ बिक्री गर्ने, झुक्काइ खाद्य पदार्थ बिक्री गर्ने र लेबल नलगाई उत्पादन गर्नेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय प्रतिबद्ध हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा आयोजनाका राष्ट्रिय कार्यक्रम संयोजक डा साकार सिवाकोटी, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईले सहजीकरण गर्नुभएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































