काठमाडौँ, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशी सहयोगबिना, स्वदेशी स्रोतसाधनको अधिकतम प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका बताउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रम समापन समारोहलाई सोमबार यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि कर्मचारीको सेवासुविधा कटौती गर्नुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो ।
निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो । यो अभ्यास अन्तरराष्ट्रिय निर्वाचन कानुनविपरीत हुने उहाँले जानकारी दिनुभयो ।
ं
“निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन, यो अन्तरराष्ट्रिय निर्वाचन कानुनको मान्यता विपरीत हो”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो । आचारसंहिता अनुगमन, निर्वाचन कार्यालयको व्यवस्थापन, शान्ति–सुरक्षा तथा गलत र भ्रामक सूचना नियन्त्रण गर्नु आयोगका लागि प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । यस विषयमा आयोग सचेत र सक्रिय रहेको उहाँले उल्लेख गक्र्नुभयो ।
आचारसंहिता अनुगमनको सन्दर्भमा आयुक्त भण्डारीले विगतबाट पाठ सिक्दै सुधारका उपाय खोज्न थालिएको बताउनुभयो । निर्वाचन कार्यालयको स्थानबारे उहाँले सबै निर्वाचन कार्यालय सदरमुकाममा राख्ने विषय आयोगको एकल निर्णयले सम्भव नहुने जानकारी गराउनुभयो ।
शान्ति–सुरक्षाका विषयमा सरकारसँग समन्वय आवश्यक हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ । सरकारसँगको समन्वयमा शान्ति सुरक्षाको व्यवस्थापनमा काम भइरहेको जानकारी उहाँले गराउनुभयो ।
अभिमुखीकरणमा करिब १२० जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सहभागिता थियो । काठमाडौँसँगै चितवन, विराटनगर र नेपालगञ्ज गरी चार स्थानका ७७ जिल्लाकै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण गरिएको आयोगका प्रवक्ता नारायणपसाद भट्टराईले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































