कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै मान्यता दिनुपर्छ भन्ने कुरा कतै पनि लेखिएको छैन। जस्तो चलाइयो, त्यस्तै चलन बस्दै जान्छ।” उनले कुनै पनि शास्त्रमा सुन अनिवार्य हुनुपर्ने उल्लेख नभएको भन्दै नयाँ पुस्ताले समयअनुकूल सोच विकास गर्नुपर्ने बताएका छन्।
आज सुनको मूल्य यति बढिसकेको छ कि सामान्य घरपरिवारका लागि सुन खरिद गर्नु ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको जोशीको भनाइ छ। विशेषगरी विवाहका क्रममा सुन बिना विवाहलाई नै विवाह नमान्ने सामाजिक मानसिकताले आर्थिक रूपमा कमजोर परिवारहरूलाई थप समस्यामा पारेको उनले बताए।
“अहिले विवाह गर्न सामान्य परिवारका मानिसलाई निकै धौधौ परेको अवस्था छ। सुन बिना विवाहलाई मान्यता नदिने चलनले समाजमा अनावश्यक दबाब सिर्जना गरेको छ,” जोशीले भने, “त्यसैले अब नयाँ पुस्ताले चाँदीलाई प्राथमिकता दिँदै सामाजिक मान्यता दिनुपर्छ।”



Oplus_16908288



















































































































































