मकवानपुर, बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुलुकको स्वतन्त्रता, संसदीय प्रजातन्त्रको स्थापना र नागरिकलाई अधिकार दिलाउन सहिदहरूको त्याग, तपस्यालाई राजनीतिक नेतृत्वले उपेक्षा गर्दा गत भदौ २३/२४ मा जेनजी विद्रोह भएको बताउनुभएको छ ।
उहाँले सहिद दिवसका अवसरमा बागमती प्रदेश मूल समारोह समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रलाई दिगो शान्ति ल्याउन र प्रजातान्त्रिक संस्कार पुनःस्थापना गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सबै नेपालीको सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।प्रदेश प्रमुख देवकोटाले युवापुस्ता कसैको उक्साहटमा नलागी राष्ट्रको सार्वभौमसत्ता सुरक्षित राख्न र आपसी सहिष्णुता कायम राख्नतर्फ एकढिक्का हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहिदहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्रमा प्रजातान्त्रिक अधिकार स्थापित गराउन गरेको जीवन उत्सर्गलाई युवापुस्ताले प्रेरणाका रूपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकारले युवाहरूको भावनालाई आत्मसात् गरेर प्रदेशमा सुशासन ल्याउने र भ्रष्टाचारजन्य कार्यलाई न्यूनीकरण गर्नेतर्फ प्रदेश सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
उक्त अवसरमा बागमतीमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले मौजुदा सविधानलाई पुनः लिकमा ल्याउन आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बाह्य शक्तिको बढ्दो चलखेलको प्रभावले अहिले राष्ट्रियतामाथि सङ्कट आउन सक्नेतर्फ सबै नेपाली सचेत रहन अनुरोध गर्नुभयो ।
प्रदेशप्रमुख देवकोटाले सहिद स्मारक विकास समितिद्वारा आयोजित श्री चन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित बालकुमारी थापा स्मृति प्रतिष्ठानका अध्यक्ष जुनेली श्रेष्ठलाई रु २५ हजार नगदसहित प्रंशासापत्र वितरण गर्नुभयो । सहिद दिवसको अवसरमा नवलपुरस्थित सहिद स्मारक परिसरबाट आज बिहान निस्केको प्रभातफेरी सहिद स्मारकमा पुगेर सभामा परिणत भएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

















































































































































