बागमती, प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।मतदान पश्चात उहाँले लोकतन्त्रलााई बलियो बनाउन मतदान स्वच्छ, निष्पक्ष निर्वाचन आवश्यक रहेको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्यनिर्वाचन अन्तर्गत जिल्लाको दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । जिल्लाको ३७४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।
मतदान जारी रहेकोे बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो । मतदान केन्द्रमा महिला र पुरुषको छुट्टाछुटै लाइनमा बस्ने व्यस्था मिलाइएको छ, भने आपाङ्गता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीलाई लाइनमा बस्न नपर्ने गरी विशेष व्यवस्था मिलाइएको प्रमुख ढकालले बताउनुभयो ।जिल्लाका १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र राखिएको छ । यसममध्ये १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।
जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई समान्य सूचीमा राखिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । यस्तै मकवानपुरमा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको सहायक प्रजिअ जोशीले बताउनुभयो ।
भीमफेदी कारागारमा रहेका ९९५ कैदीबन्दीमध्ये १६२ जनाको मतदाता नामावलीमा नाम समावेश रहेको भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले बताउनुभयो ।मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य ५ गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता छन् ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































