काठमाडौँ, नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएको छ । सभापति गगनकुमार थापाले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभएको छ, “प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ ।” उहाँले जनताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईँहरूको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको उल्लेख गर्नुभएको छ ।
उहाँले निर्वाचन सफल बनाउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्नुभएको छ । साथै, कांग्रेसले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुभएका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेको छ । राष्ट्रिय समाचार समिति (रासस)















































































































































