सिरहा, बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहानदेखि सुरु भएको मतदानका क्रममा कुल दुई लाख ९० हजार ४४७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार खसेको मतमध्ये एक लाख ५८ हजार ५७७ महिला, एक लाख ३१ हजार ८६८ पुरुष तथा दुई जना अन्य मतदाता रहेका छन् । जिल्लामा कुल चार लाख ५३ हजार ६४५ मतदाता रहेका थिए ।
निर्वाचनपछि सबै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित सङ्कलन केन्द्रमा ल्याइएको छ । मतगणना सुरु गर्ने विषयमा उम्मेदवारका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार मतदान सम्पन्न भएसँगै उम्मेदवारका प्रतिनिधि तथा सम्बन्धित पदाधिकारीहरू मिलेर मतगणनास्थलको निरीक्षण गरेपछि मतगणना सुरु गरिने जानकारी दिनुभयो । “चारै निर्वाचन क्षेत्रमा मतगणनाका लागि स्थल तयारी अवस्थामा छन् । उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल गरेर सहमति बने आजै रातिबाट मतगणना सुरु गर्ने तयारीमा छौँ”, उप्रेतीले भन्नुभयो ।
मतगणनाका लागि सिरहा–१ को मतगणना लहान नगरपालिकाको सभाहलमा, सिरहा–२ को धनगढीमाई नगरपालिकाको कार्यालयमा, सिरहा–३ को सिरहा नगरपालिकाको कार्यालयमा र सिरहा–४ को मिर्चैयास्थित रेडक्रस भवनमा व्यवस्था गरिएको छ । राष्ट्रिय समाचार समिति (रासस)















































































































































