सिद्धार्थनगर (रुपन्देही, देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत तथा निर्वाचनविरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा चार जना गरी २४ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ । निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम राख्न र आचारसंहिता उल्लङ्घन रोक्न कडा निगरानी गरिएको प्रहरीले बताएको हो ।
त्यसैगरी, निर्वाचनको समयमा आचारसंहिताविपरीत तथा अनुमति नलिई सञ्चालन गरिएका देशभरका दुई हजार ५९७ वटा सवारीसाधनलाई होल्ड गरिएको छ । होल्ड गरिएका सवारीमध्ये दुई हजार ३५१ वटा दुईपाङ्ग्रे र २४६ वटा चारपाङ्ग्रे रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा ८३०, कोशी प्रदेशमा ११, मधेस प्रदेशमा १७९, बागमती प्रदेशमा २८४, गण्डकी प्रदेशमा २७६, लुम्बिनी प्रदेशमा ८८७, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा १०८ वटा सवारीसाधन होल्ड गरिएको छ ।
यस्तै, काठमाडौँ उपत्यकाका दुई स्थानसहित देशभरका १५ स्थानमा शङ्कास्पद वस्तु फेलापरेको छ । ती शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि नेपाली सेनासँग समन्वय गरिएको प्रहरी प्रधान कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न नेपाल प्रहरी देशभर प्रभावकारी रूपमा परिचालित भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कार्यादेशअनुसार निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारी उच्च मनोबलका साथ खटिएको प्रहरी प्रधान कार्यालय जनसम्पर्क एवं मिडिया समन्वय शाखाले जानकारी दिएको छ ।
उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै निर्वाचन क्षेत्रमा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म विश्लेषण गरी अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय गरेर प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । निर्वाचन क्षेत्रको सुरक्षाका लागि निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इएमआइएस), (जिआइएस) सफ्टवेयर, सिसीटिभी निगरानी, ड्रोन निगरानी, वडी वार्म क्यामरा आरटिभीएस (वास्तविक समय भिडियो निगरानी)को डिजिटल माध्यमबाट आधुनिक प्रविधिको प्रयोग गरी प्रत्यक्ष निगरानी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय तथा जनसम्पर्क एवं मिडिया समन्वय शाखा (केन्द्रीय प्रहरी समाचार कक्ष)ले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय समाचार समिति (रासस)

















































































































































