इनरुवा (सुनसरी), सुनसरीमा शन्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शन्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । जिल्लामा पाँच लाख ८० हजार ९४५ मतदातामध्ये तीन लाख ६९ हजार ६०० मत खसेको छ । यो कूल मतको ६४ प्रतिशत हो ।
निर्वाचन क्षेत्र १ मा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ भने निर्वाचन क्षेत्र–२ मा एक लाख ५८ हजार ९०१ मतदातामध्ये एक लाख एक हजार चार मत खसेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी, निर्वाचन क्षेत्र–३ मा एक लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १९५ मत खसेको र निर्वाचन क्षेत्र–४ मा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको उहाँले जानकारी दिनुभयो ।
मतपेटिका आउने क्रम सुरु भएकाले मतपेटिका आएसँगै सर्वदलीय बैठकपछि मतगणना सुरु हुने निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । मतगणनाका लागि सुरक्षा व्यवस्था कडा मिलाइएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)


















































































































































