काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो हुने निर्वाचित हुने तर्फको मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न मौसमले साथ नदिएपछि केही क्षेत्रको मतगणना सुरु गर्न ढिलाइ भएको थियो । पछिल्लोपटक हेलिकप्टरबाट ढुवानी गरिएका सङ्खुवासभा र गोरखाको मतगणना आज बिहानदेखि सुरु भइसकेको छ । यसैगरी मुगुमा मानिसले बोकेर मतपेटिका ढुवानी गरेपछि दिउँसो ४ः०० बजेदेखि सुरु भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले ५८ क्षेत्रमा मतगणना सकिएको भनी आयोगको प्रणालीमा तथ्याङ्क प्रविष्टि भएको उहाँले जानकारी दिनुभयो । आयोगको प्रणालीमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रविष्टि गर्न प्राविधिक समस्याका कारण केही ढिलाइ समेत हुने गरेको छ । प्रत्यक्षतर्फ मतगणना सकिएका क्षेत्रमा समानुपातिकमा पनि गणना सुरु भएको छ । समानुपातिकतर्फ हालसम्म तीन लाख ७० हजार मतगणना भई त्यसको विवरण आयोगको प्रणालीमा प्रविष्टि भएको सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो । प्रत्यक्षतर्फ आइतबार बेलुकीसम्म १६५ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुने गरी गणना भइरहेको आयोगले जनाएको छ । राष्ट्रिय समाचार समिति (रासस)

















































































































































