गण्डकी, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले कास्कीको पोखरास्थित रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ । प्रदेश कार्यालय निरीक्षणसँगै उहाँले राससको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक सुझाव तथा निर्देशन दिनुभयो ।सो अवसरमा गण्डकी प्रदेश कार्यालयको भवन निर्माण, सटर भाडाको ‘टेण्डर’ प्रक्रिया, गण्डकी प्रदेशका समाचार सम्प्रेषणको प्राथमिकता, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यलगायत विषयमा छलफल भएको थियो ।
राससकर्मीसँगको छलफलमा अध्यक्ष झाले परिवर्तित राजनीतिक अवस्थामा राससलाई विगतको जस्तै सरकारको सहयोगी संस्थाका रुपमा विकसित गरिने बताउनुभयो । रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेलले प्रदेश कार्यालयका गतिविधि र काम कारबाहीबारे अध्यक्ष झालाई जानकारी गराउनुभएको थियो ।त्यस क्रममा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदेश कार्यालय रहेको जग्गामा ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ निर्माण गर्ने राससको सोच र योजनाका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































