खलङ्गा (दार्चुला), दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । महाकालीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी पौडी खेल्ने क्रममा महाकाली नगरपालिका–५ बसपार्क नजिकबाट बेपत्ता भएका हुन् ।
साथीहरुसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै गएका दुई साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































