कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–६ वनसमिति बजारका जन्जीर चौधरी स्वदेशमा परिश्रम गरेर सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ । उहाँले सात वर्षदेखि सञ्चालन गर्दै आउनुभएको मोटरसाइकल मर्मत वर्कसपबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको हो ।
वनसमिति बजारमा रहेको सानो वर्कसपबाट सुरु भएको उहाँको यात्राले अहिले स्थिर आय र भविष्यको योजनाको ढोका खोलेको छ । मोटरसाइकलको इञ्जिन बाँध्ने, वारिङ गर्ने, पाटपुर्जा बदल्ने, सर्भिसिङ गर्नेलगायत सबै काम चौधरीले आफैँ गर्दै आउनुभएको छ । कामको चाप बढी हुने याममा भने मासिक आम्दानी रु एक लाखसम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
जन्जीरको वर्कसपमा उहाँकी श्रीमती सरु चौधरीले पनि साथ दिँदै आउनुभएको छ । दुवै जना बिहान ७ः०० बजेदेखि राति करिब ९ः०० बजेसम्म वर्कसपमा व्यस्त हुनुहुन्छ । कामदार नराखी श्रीमान्–श्रीमती मिलेर काम गर्दा खर्च घट्ने र कमाइसँगै बचत गर्न पनि सजिलो हुने चौधरीको अनुभव छ ।
वर्कसपको आम्दानीबाट चौधरीले परिवारको दैनिक खर्च धान्नुका साथै केही सम्पत्ति जोड्नुभएको छ । “घरमा रहेको चार बिघा जग्गाको खनजोत, सिँचाइ, मलखाद र बीउबिजन खरिदको खर्च पनि वर्कसपकै आम्दानीले धानिरहेको छ”, चौधरीले भन्नुभयो, “एक पटक श्रीमती बिरामी हुँदा उपचारका लागि करिब रु दुई लाख खर्च भयो, त्यो पनि यही कमाइले व्यवस्थापन गर्न सक्यौँ ।”
श्रीमती सरुलाई पनि मोटरसाइकल मर्मतको काम सिकाउँदै आउनुभएका जन्जीर अहिले आधाभन्दा बढी काम गर्नसक्ने अवस्थामा पुग्नुभएको छ । यही क्रममा वडा कार्यालयमार्फत मोटरसाइकल मर्मतसम्बन्धी तालिम सञ्चालन हुने जानकारी पाएपछि उहाँले तालिम लिने निर्णय गर्नुभयो । तालिमका क्रममा करिब एक वर्ष विभिन्न वर्कसपमा काम गर्ने अवसर पाएपछि मोटरसाइकल मर्मतमा सक्षम भएको उहाँले बताउनुभयो ।
“साथीभाइसँग सापटी मागेर रु चार लाख लगानी गरी वर्कसप सुरु गरेँ”, चौधरीले भन्नुभयो, “इमानदारीपूर्वक काम गर्दै गएपछि आम्दानी बढ्दै गयो र छ महिनामा सापटी रकम फिर्ता गर्न सफल भएँ ।” उहाँको वर्कसपमा करिब रु १५ लाख बराबरको लगानी पुगेको छ । उहाँले कमाइबाटै क्रमशः उपकरण र पाटपुर्जा थप्दै वर्कसपलाई विस्तार गर्दै आउनुभएको छ ।
प्राविधिक सीपलाई अझ व्यवस्थित बनाउन चौधरीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बाट मोटरसाइकल मर्मतसम्बन्धी तीनमहिने तालिम लिनुभएको छ । उक्त तालिमपछि उहाँले ‘वान लेभल’ परीक्षा पनि उत्तीर्ण गर्नुभएको छ ।
यही सीपका आधारमा अहिले उहाँ विभिन्न गैरसरकारी संस्थाले सञ्चालन गर्ने मोटरसाइकल मर्मतसम्बन्धी तालिममा प्रशिक्षकका रूपमा सहभागी हँुदै आउनुभएको छ । यसबाट उहाँलाई अतिरिक्त आम्दानी हुने गरेको जन्जीरले जानकारी दिनुभयो ।
वर्कसपको आम्दानीबाट चौधरीले गाउँमै दुईवटा पक्की घर निर्माण गर्नु भएको छ । चार–चार कोठाका दुई घरमध्ये एउटा आफ्नै परिवारका लागि र अर्को भाइका लागि बनाउनु भएको हो । यससँगै उहाँले दुई बिघा जग्गामा उखुखेती गर्दै आउनुभएको छ । उखुखेतीबाट मात्रै वर्षमा करिब रु पाँच लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
सीप सिकेर स्वदेशमा मेहनत गरे मनग्य आम्दानी गर्न सकिने सन्देश चौधरीले वैदेशिक रोजगारीमा जाने युवालाई दिँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “विदेश जाने सोचभन्दा पहिले स्वदेशमै सीप सिकेर काम गर्ने प्रयास गरे राम्रो आम्दानी परिवारसँग बसेर गर्न सकिन्छ ।” युवालाई स्वरोजगार बनाउन स्थानीय सरकारले तालिम तथा सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































