कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बर्दगोरिया गाउँपालिका–५ का वडाध्यक्ष भोलेराम चौधरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सम्झना बजारका प्रादेशिक प्रमुख बिमल खनाल तथा स्टेसन कार्यालय टरिगाउँ र दाङका स्टेसन प्रमुख हस्तबहादुर पुनलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन मसुरिया स्टेसन प्रमुख अशोककुमार बोगटीले गर्नुभएको थियो भने स्वागत मन्तव्य शान्तिनगर शाखा प्रमुख दिनेश भट्टले व्यक्त गर्नुभएको थियो। साथै, स्टेसन प्रमुख हस्तबहादुर पुनले वित्तीय विवरणसहित मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रादेशिक प्रमुख बिमल खनालले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै सहभागीहरूलाई सुरक्षित रूपमा बचत गर्ने तरिका, अनावश्यक खर्च नियन्त्रण गर्ने उपाय तथा डिजिटल बैंकिङमार्फत हुने ठगीबाट जोगिने सम्बन्धी जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष भोलेराम चौधरीले यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। त्यसैगरी, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रमुख डम्बर बिष्टले डिजिटल बैंकिङमार्फत हुने ठगीबाट बच्ने उपायबारे जानकारी गराउँदै वित्तीय कारोबार गर्दा आवश्यक ज्ञान हासिल गर्न तथा भ्रामक सूचनाबाट सचेत रहन आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शाखाका कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा पुरुष–महिला गरी जम्मा १ सय ३९ जना ग्राहक सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
























































































































































