कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ नौनियामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको अध्यक्षतामा संचालन भएको थियो।
शिविरमा वडा नं ४ का १ सय ५२ भन्दा बढी पशुपन्छीधनीले सेवा लिएका थिए। बिहान ८ बजे सुरु भई दिउँसो २ बजे सम्पन्न भएको शिविरमा ११ सय ९० भन्दा बढी पशु–पन्छीको औषधी उपचार गरिएको थियो भने २२ वटा कुकुरलाई रेबिज खोप लगाइएको पशु स्वास्थ्य अधिकृत जय प्रसाद कोईरालाले जानकारी दिए।
कार्यक्रममा सहभागी पशु प्राविधिकहरूले कुकुरलाई रेबिज खोप, गाई–भैँसी, बाख्रा, बङ्गुर र कुखुरालाई उपचार गरेको बताएका छन्। साथै, पशु पन्छी धनीहरूलाई निशुल्क औषधि र भिटामिन समेत वितरण गरिएको थियो। बर्दगोरिया गौशालामा रहेका २ सय वटा गाईको पनि आन्तरिक तथा बाह्य परजीवी विरुद्ध उपचार, मल्टी भिटामिन र मिनरल मिक्सचर उपलब्ध गराइएको पशु स्वास्थ्य प्राबिधिक अनिल ओलीले बताए।
गाउँघरमै निशुल्क स्वास्थ्य उपचार पाएर स्थानीयहरू निकै खुशी भएका छन्। अध्यक्ष कुँवरका अनुसार, पालिकाभरिका विभिन्न विकट गाउँठाउँमा समय–समयमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ। उनले भने, “गाउँघरमा भेटनरी नहुँदा बिरामी पशु औषधि नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्नु हाम्रो उद्देश्य हो।”
शिविरमा पशु चिकित्सकद्वारा पशु चेकजाँच, निःशुल्क औषधि वितरण, वनध्याकरण सेवा, गाई–भैँसीमा लम्पी स्किन रोगको उपचार, कुकुर–बिरालामा रेबिज खोप, पशुको गर्भ परीक्षण, बाजोपनको उपचार र पशुपालन सम्बन्धी प्राविधिक सल्लाह प्रदान गर्ने उद्देश्यले पशु चिकित्सकहरु नौनिया पुगेका हुन्।























































































































































