नवलपरासी । सरावल गाउँपालिकाका मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीसहित करिब ३३ जनाको टोली चैत १२ गते पाल्पा, मनाङ, मुस्ताङ र पोखरा लगायतका स्थानमा भ्रमणमा गएको खुलासा भएको छ।
उक्त टोली पालिका उपाध्यक्ष बासमति हरिजन र न्यायिक शाखाका कर्मचारी भविश्वर डुम्रेको नेतृत्वमा गएको बताइएको छ।
भ्रमण तथा न्याय शाखा र न्यायिक समिति बैठक सञ्चालन, खाजा खर्च र फिल्ड निरीक्षण शीर्षकबाट मात्रै करिब ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको स्रोतले जनाएको छ।
स्थानीयस्तरमा विकास निर्माणका लागि बजेट अभाव भएको भन्दै जनतालाई टार्ने काम भइरहेका बेला यस्ता शीर्षकमा ठूलो रकम खर्चिनु गम्भीर प्रश्नको विषय बनेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनपछि पालिकाहरूलाई अनुत्पादक खर्च घटाउन र आवश्यकतामुखी योजनामा केन्द्रित हुन निर्देशन दिइएको थियो। तर सरावल गाउँपालिकामा भने उल्टै बेफजुलका योजनामा बजेट विनियोजन गर्ने प्रवृत्ति बढ्दो देखिएको स्थानीयको आरोप छ।
स्थानीयका अनुसार उपाध्यक्ष हरिजनले आफ्ना नजिकका व्यक्ति र पार्टीका कार्यकर्तालाई प्राथमिकतामा राखेर योजना वितरण गर्ने गरेको समेत गुनासो छ। त्यस्तै कर्मचारीहरू पनि आफ्नै अनुकूल शीर्षक बनाएर बजेट खर्च गर्ने र हरेक वर्ष उही कार्यक्रम दोहोरिए पनि उपलब्धि शून्य रहने गरेको बताइन्छ।
जनताले सानो कामका लागि पनि अनेक नियम र प्रक्रिया सामना गर्नुपर्ने अवस्था छ भने पालिका भित्रका कर्मचारीहरुकम कार्यक्रमहरू १–२ दिनमै सकिने, कतिपय त भएको/नभएको नै थाहा नहुने अवस्थासमेत देखिएको छ।
स्थानीयहरू भन्छन्— “जनताको विकासका लागि बजेट छैन भन्ने, तर कर्मचारी र जनप्रतिनिधिको भ्रमण, खाजा र ‘कार्यक्रम’ का नाममा लाखौँ खर्च गर्ने प्रवृत्ति तत्काल रोकिनुपर्छ।”जनताकाे करकाे बजेट सदुपयोग हुनुपर्छ ।
अब प्रश्न उठ्छ— जनताको करबाट उठेको बजेट कसका लागि? विकासका लागि कि ‘भ्रमण र माेज मस्ति’ का लागि?
























































































































































