कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैया गाउँ नजिकै रहेको कान्द्रा नदिमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नदिमा माछा मार्न गएका भगवती माई गाउँपालिका वडा नम्बर–४ मनघर दैलेख घर भएका अन्दाजी २२ वर्षीय अमर थापाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
साथी सँग हिजो शनिवार कान्द्रा नदिमा माछा मार्न गएका बेला उनी बेपत्ता भएका थिए । आज खबर प्राप्त हुनासाथ अत्तरिया बाट आएको गोताखोर टोलीले खोजी गर्दा उनी मृत भेटिएका हुन । उनी सँग माछा मार्न गएका अन्य ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । थापाको शवलाई पाष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनी पहलमानपुर लालबोझी सडक खण्डमा मिक्स्चर चलाउने काम गर्दे आएको बताईएको छ ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                


































                    
                    
                    
                    
                    



























































































































