
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ लिक्मामा तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९ हुने भएको छ । ‘खेलौँ फुटबल रमेर, फुटबलको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन, नगर क्षेत्रलाई खेलकुदको चहलपहल बढाउने, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । प्रतियोगितामा सुदूर पश्चिम प्रदेका ९ जिल्लाको टिम र एक आयोजक गरी जम्मा १० टिमको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगिताको विजेतालाई ट्रफि सहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
२०७४ साल बाट खेलकुद र फुटबलको बिकास निम्ति र व्यावसायिक खेलाडी तथा खेलाडी उत्पादन र गाउँ घर खेलाडीहरू लाई क्षमताको बिकास एवं युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्नको लागी गौरीगङ्गा–११ स्पोर्टस क्लबले काम गर्दै आएको छ । तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप खेल वडा नम्बर ८ स्थित लिक्माको खेल मैदानमा सञ्चालन हुने बताईएको छ ।