वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघर सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले विपद् व्यवस्थापनको रकम कार्यविधि बनाएर विपद् व्यवस्थापनको रकम स्थानीय तहलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँले जोखिमको पहिचान भएका स्थानीय तहमा पूर्वतयारी गरिहाल्नुपर्नेसमेत बताउनुभयो । उहाँले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेको गोदाम घर (विपद्को राहत तथा उद्धार सामग्री) चालु अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।
बैठकमा मनसुनजन्य विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, प्रदेश विपद् कोषबाट लागत साझेदारीबापत उपलब्ध गराइएको रकम, प्रदेश विपद् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो । प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकता र औचित्यताका आधारमा विपद् व्यवस्थापन कोष परिचालन गर्ने, विपद् पहिचान भएका स्थानीय तहरुमा पूर्वतयारी, खोज उद्धार र राहत, आवास पुनर्निर्माण र पुनस्थापनाका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् वाग्मती प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । वाग्मती प्रदेशमा बाढी तथा पहिराबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान प्रदेश सरकारले गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार विगत १० वर्ष (२०६९ देखि २०७९) सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेशमा घटने मनसुनजन्य विपद्हरु क्रमशः बाढी, पहिरो, भारी वर्षा र महामारी रहेका छन् । विगत १० वर्षको तथ्याङ्कअनुसार दुई सय ४३ वटा बाढीका घटनाहरुमा ९६ मानिसको मृत्यु, ३९ घाइते र ५८ जना बेपत्ता भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको मृत्यु २०७० सालमा भएको देखिन्छ । २०७९ सालको मनसुन तथ्याङ्कअनुसार वाग्मती प्रदेशमा १३ बाढीका घटनाहरु भएमा दुई जनाको मृत्यु भएको छ भने नौ घर पूर्ण क्षति हुँदा ९२ लाख ७३ हजार क्षति भएको थियो ।
२०७९ सालमा भएको बाढीको घटनाको तथ्याङ्कअनुसार यस्को प्रभाव असारदेखि कात्तिकसम्म हुने गरेको छ । जसमध्ये साउन महिनामा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्याङ्क छ । वाग्मती प्रदेशमा गत वर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको र यसबाट ५७ लाख बराबरको क्षति भएको थियो । १३ जिल्लामध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौँ, रसुवा, काभ्रेपलान्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्याङ्क छ ।
बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ, श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, पर्यटन उद्योग तथा सहकारी पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी, नेकपा (एमाले )वाग्मती प्रदेशसभा प्रमुख सचेतक मधुसूदन पौडेल, प्रदेससभा सदस्य सरल सहयात्री पौडेल, वाग्मती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धु्रव गैडा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्याय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने लगायतकाको सहभागिता रहेको थियो । –––


































































































































































