इटहरी । सुनसरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।शनिबार बिहान प्रभातफेरी, रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मूल आयोजक समिति, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समितिको आयोजनामा सो अभियान सुरु भएको हो । सो अभियानलाई दर्जनौं संघसस्थाले साथ दिएका छन् ।
प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायतको उपस्थीति रहेको थियो । सो अभियानको उदघाटन कार्यक्रममा प्रजिअ पाण्डेले महिला हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताएकी छिन् । महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसालगायतका घटना सहेर नबस्न समेत उनको आग्रह छ ।
प्रदेश सरकार र प्रहरीको कार्यतालिका अनुसार अभियानको १६ दिन नै विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने जानकारी दिईएको छ ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आईएको छ ।


































































































































































