कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन् । कैलालीको बौनियामा आयोजित अन्तर पालिका स्तरीय ‘मुख्यमन्त्री कप’ फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री शाहले सो अवसरमा ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्नेजस्तो नीति सरकारले लिएको स्पष्ट पारे ।
उनले भने, “हामीले खेलकुद क्षेत्रमा विषेश गरी सुदूरपश्चिम प्रदेश सरकारले खेलाडी साथीहरुको मनोबल उच्च राख्नका लागि विभिन्न कोणबाट सहयोग गर्दै आएको छ । खेलकुदका माध्यमबाट लागुऔषध दुव्र्यसनीको समस्या न्यूनीकरण कसरी गर्न सकिन्छ ? भन्नेतर्फ पनि गम्भीर रुपमा लिएको छ ।”
उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा गाउँसमाज र प्रदेशको उचाईलाई अघि बढाउने खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार प्रदान गर्ने निर्णय गर्दै आएको समेत बताए । कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले किसानमैत्री नीति बनाउन लागिएको बताए ।
जिल्लाका पालिकास्तरीय १६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिता यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी हुनेलाई रु दुई लाख एक हजार र उपविजेतालाई रु एक लाख पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार र विभिन्न विधातर्फका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजारसमेत प्रदान गर्न लागिएको जनाइएको छ ।






















































































































































