धनगढी। यहीँ मंसिर २२ गतेदेखि सुरु हुन लागेको १७ औं संस्करणको सुदूरपश्चिम महोत्सवको टिकट खल्ती एपबाट खरिद गर्न सकिने भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा रहेक वर्षजस्तै यसवर्ष पनि मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुनेछ।
महोत्सवको प्रवेश शुल्क मोबाइल वालेट खल्तीबाट खरिद गर्न सकिने भएको हो। समयको माग, दर्शकको भीड र सुरक्षालाई मध्यनजर गर्दै यस वर्षको टिकट खल्तीबाट बिक्री गरिने आयोजक कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोमा अधिकारीले जानकारी दिइन्।
उनका अनुसार अघिल्लो वर्षसम्म प्रत्यक्ष महोत्सव स्थलको गेटमा कागजी टिकट बिक्री गरिँदै आएकोमा यस वर्षदेखि दर्शकको सहजताका लागि मोबाइलबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० र सर्वसाधारणलाई एक सय रुपैयाँ तथा फरक क्षमता भएकालाई निःशुल्क गरिएको छ। मोबाइलमा भएको खल्तीको एपमा गई दिइएको निर्देशनअनुसार घरमै बसेर मोबाइलबाटै टिकट काट्न सकिने भएको हो।
महोत्सवमा चार सय स्टल रहने छन्। महोत्सवमा किसानहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ। महोत्सवमा उत्कृष्ट कृषि प्रदर्शनी गर्ने किसानलाई प्रमाणपत्रसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। महोत्सव तयारी तीव्र पारिएको छ।


































































































































































